Pages

Subscribe:

Ads 468x60px

कविता : भित्तेपात्रो

म सानै छदाको कुरा हो,
दुधको मिल्केन लिएर एकाविहानै बजार जानु भएका मेरा बा
घर फर्कदा हातमा दुधको मिल्केन संगै
लमतन्ने कागजका पाना झुण्ड्याउदै फर्किए

मेरो दशैको नयाँ लुगा भन्दा पनि चिल्लो र नयाँ
कागजको पन्नाहरुलाइ
मक्किएको र जीर्ण घरको भित्तामा बडो जतनकासाथ झुण्ड्याए
मेरा बा भन्दा भन्दा पनि बुढो घरको त्यो भित्तो
मुस्कुरायो कागजको चिल्ला नया लुगा लगाएर
तर म बाको अनुहारमा हेर्छु
कुनै उज्यालो छैन, कुनै मुस्कान छैन ।

मेरी आमाले सक्रान्तीको दिन
गाइको गोवर र रातो माटोले आँगन र पिढि लिप्दै गर्दा
बा भने अस्ति भित्तामा झुण्ड्याइएको काजगको पन्ना पल्टाउनुहुन्थयो

र, आकाशका बादलतिर हेरेर के सोच्नुहुन्थ्यो कुन्नि
म भने भित्तामा देखिएका रङिगविरङगी चित्र र अक्षरहरुमा भुलिरहेको हुन्थेँ ।
मलाइ पुरै याद छ,
बा ले भित्ताको लमतन्ने पाना पल्टाउन
कुनै सक्रान्ती विर्सिएनन्
तर पाना पल्टाउदा मुस्कुराउन भने सधै विर्सिरहे ।

आज,
बा को ठाउँमा म छु
अभाव र गरिविसंग कुम जोडेर
भ्रष्टाचारी तस्कर र दलालहरुसंग पौठेजोरी खेल्दै
हरेक वर्ष मैले पनि मेरा बा ले जस्तै
लमतन्ने पाना भित्तामा झुण्ड्याउछुर हरेक सक्रान्तीमा पल्टाउने गर्छु
यो उकुसमुकुस र भागदौडको अस्तब्यस्त जिन्दगीबाट
अलि पर एकान्तमा गएर सोच्ने गर्छु
मेरा बाले हरेक सक्रान्तीमा भित्तामा झुण्ड्याइएको
लमतन्ने पात्रोको पाना पल्टाएर
साल फेरेका होइन रहेछन, सास फेरेका रहेछन ।

आजकाल भित्तामा पात्रो फेर्ने बेलामा
झोलुङगामा सुतिरहेकी छोरीलाइ हेरेर
मनमनै भन्ने गर्छु
हिजो जस्तो आज त्यस्तै छैन कुनै हर्ष
एक वर्ष बुढो बनाउन आयो नयाँ बर्ष
२०७४/१२/३० ११ः३० बजे


0 Comments:

Post a Comment