Pages

Subscribe:

Ads 468x60px

पर्खेर बसिन्, तर छोरो फर्केर आएन !

 दुर्घटनाग्रस्त बस , फोटो :अमृत लंसाल

असोज ११ गते मंगलबार धादिङको मार्पाक गाउँ विकास समितिको लपाङबेशीमा दुर्घटनामा परेको बसको पछाडी लेखिएको थियो, 'पखी बस फर्की आउने छु' । तर सवै कुरा भनेजस्तै कहाँ हुदो रहेछ र ? सदरमुकाम धादिङवेशीमा आमालाइ पर्खि बस्न लगाएर सेर्तुङमा रहेका बुवालाइ लिन गएका सेर्तुङ गाउँ विकास समिति वडा नं ९ हिन्दुङमा लारुक तामाङ भने कहिल्यै नफर्किने गरि गए । 
यदि मान्छे मरिसकेपछि पनि बोल्न मिल्ने भइदिएको भए पक्कै पनि लारुकले एकपटक ३ टुक्रा भएको गाडीका पछाडिपटि लेखिएको लाइन पढेर आमालाइ भन्ने थिए होला —‘आमा अव मलाइ नपर्खनु म तपाइको सामु फर्केर कहिल्यै आउन नसक्ने गरि जाँदैछु ।’ 
भुकम्पमा क्षतिग्रस्त भएको घर बनाउनको लागि नेपाल सरकारले दिने घोषणा गरेको २ लाख रुपैया अनुदानको पहिलो किस्ता लिनको लागि आमालाइ लिएर सदरमुकाम धादिङ आएका लारुक अनुदानको रकम लिनको
लारुक तामाङ, दुर्घटनामा पर्नुअघिको फोटो
लागि बुबा नै अनिवार्य भएपछि दमको रोगले थलिएर गाउँमै रहेका बुवालाइ लिन गएका थिए । तर दुर्भाग्य बस गाउँ पुग्नु त परैको कुरा आमालाइ सदरमुकाममा आफन्तीको कुराएर गाउँ गएका उनी अव सधैभरि आमालाइ छोरोको पर्खाइमा बस्ने बनाउन विवश भए । विदेशमा काम गरेर खासै कमाउन नसकेपनि अनुदानको रकममा थपथाप गरेर घर बनाउने लारुकको सपनामा त्यतिबेला तुराषापात भयो जतिबेला किन्ताङफेदी जाँदै गरेको बस लपाङवेशीको भीरबाट खसेर आँखुबगरमा पुग्यो । लारुक संगै यात्रारत अन्य १८ जना सहयात्रीहरुले पनि ज्यान गुमाउन पुगे ।
यता सदरमुकाममा छोरोको पर्खाइमा रहेकी सर्चि तामाङ अव छोरो कहिल्यै नफर्किने गरि गएको खवर थाहा पाउने वित्तिकै मुर्छित भइन । छिन छिनमा होसमा आउदा उनी आफ्नै भाषामा कराइरहेकी हुन्थिन, ‘बाबु म अव को भनेर बाँचु, तिमि थियौ एकमात्र सहारा, बुवा पनि दमको विरामी हुनुहुन्छ, अव हामीलाइ कस्ले हेर्छ, हाम्रो घर अव कस्ले बनाइदिन्छ ।’
लारुकका छिमेकी जीतमान तामाङले भने, ‘घर नाप्नको लागि पुगेको इन्जिनियरले लारुकको आमाको नाममा निस्सा दिएछ, लाभग्राहीको सुचिमा बुबाको नाम आएछ, निस्सा अनुसार आमाले सम्झौता गरेको भएपनि पैसा लिनको लागि बुवा अनिबार्य चाहिने भएपछी गाउँमा बुबालाइ लिन जाँदै गर्दा लारुक दुर्घटनामा परेको रहेछ ।’
छोरो गुमाएको खवरले मुर्छित हुँदै लारुककी आमा सर्चि तामाङ
छोरो दुर्घटनामा परेर मृत्यु भएको खवर सुनेपछि अहिलेसम्म आमा सर्चिको होस राम्ररी खुलेको छैन । बेला बेला बेहोसीमा बर्बराउदै आफ्नै भाषामा उनी भन्छिन, ‘भुकम्पमा परेर मरिमरि बाच्नु त यस्तो अवस्थामा देख्न पो रैछ, मलाइ यो अवस्थामा पुर्याउनु भन्दा त बाबु छोरा तिमी फर्कि आउ मलाइ पनि संगै लिएर जाउ ।’ उनको यो चित्कारले संगै रहेका अरु आफन्तीहरुको गहभरि आसु टिल्पिलाएका थिए । आफन्तीहरु पनि उनको पिडामा मलम लागाउन सक्ने अवस्थामा थिएनन किनकी जे नहुनुपर्ने थियो त्यो....
भइसकेको थियो । आफन्तीहरुले सम्झाउने निकै प्रयास गरेपनि सर्चि तामाङको चित्कारबाट प्रस्टै थाहा हुन्थ्यो कि अरुले सम्झाए बुझाए पनि सर्चि भने आफनै मनलाइ सम्झाउन सकिरहेकी थिइनन ।

घर बनाउने सपना अधुरै

सत्यदेवी गाउँ विकास समिति वडा नं ३ का लीलाबहादुर तामाङ १ साताअघि नेपाल सरकारले घर बनाउन दिएको अनुदानको पहिलो किस्ता ५० हजार लिन सदरमुकाम धादिङवेशी आए । गाउँमै सम्झौता शिविर गएको बेला अुनदान सम्झौता गरेका तामाङले गाविसले सुचना दिएपछि यति डेभलपमेन्ट बैङकबाट ५० हजार रुपैया पनि बुझे । हातमा ५० हजार रुपैया परेपछि भुकम्प गएको १६ महिना नाघिसक्दा पनि अझैपनि अस्थायी टहरोमै राख्दै आएका परिवारलाइ अव घरमा बनाएर त्यहा सार्ने योजना बनाउदै गाउँ फकिएका लीलाबहादुरको सपनामा पनि त्यतिबेला तुषारापात पर्यो जतिवेला उनी चढिरहेको बस धादिङको मार्पाक गाउँ विकास समितिको वडा नं ६ लपाङफेदीबाट खसेर आँखुनदीको किनारमा पुग्यो । दुर्घटनामा लीलाबहादुर संगै अन्य १८ जनाले ज्यान गुमाउन पुगे । नयाँ घर बनाउने सपना बुनेर सदरमुकाम झरेका लीलाबहादुरको सपना गाउँ फर्किएन । उनीसंगै सत्यदेवी गाउँ विकास समितिबाटै अनुदानको पहिलो किस्ता लिन आएका ६ जनाले ज्यान गुमाए । लीला बहादुरकी कान्छी छोरी मनश्री तामाङले भावुक हुदैँ भनिन, ‘पैसा लिन लागि सदरमुकाम जान्छु भनेर घरबाट हिड्नुभएको बुवा अव कहिल्यै फर्केर नआउने गरि जानुभयो । घरमा आमापनि विरामी हुनुहुन्छ काजक्रिया गर्न पर्यो, नयाँ घर बनाएर बस्ने त त्यस्तै भयो बुबालाइ समेत गुमायौँ ।’
सर्चि तामाङलाइ सम्हाल्दै आफन्तीहरु
मंगलबार दुर्घटनामा पर्नेहरुमा अधिकाँश उत्तरी धादिङबाट अनुदानको पहिलो किस्ता लिन आएका सर्वसाधरणहरु थिए । गाउँमै पुगेर अनुदान सम्झौता गरेपनि गाउँमा बैङकले सेवा नदिएपछि बाध्य भएर सदरमुकाम झर्न परेका उत्तरी धादिङका स्थानियहरुलाइ पैसा लिनको लागि मात्रै पनि सदरमुकाम आउनै पर्ने बाध्यता भएको छ ।
मंगलबारको दुर्घटनामा सत्यदेवी गाउँ विकास समितिबाट अनुदानको पैसा लिन आएका ६ जना र री गाउँ विकास समितिको मात्रै ४ जनाले ज्यान गुमाएका छन । मुक्तिनाथ विकास बैङ्क धादिङवेशीमा पैसा लिन पालो पर्खिरहेका री ७ ताजिम्राङका डेण्डुप तामाङले भने, ‘री ८ को मान बहादुर तामाङले को पनि हाम्रो भन्दा अघि थियो पैसा लिने पालो, सदरमुकाममा आएर तिन दिन आफन्तकोमा बसेपछि बल्ल पालो आएको थियो । सोमबार पैसा बुझेर मंगलबार गाउँ गएका उनी पनि दुर्घटनामा परेको सुनेर साह्रै नमज्जा लागेको छ ।’
दुर्घटनामा परेर एकै गाउँका ४ जनाको मृत्यु भएपछि सत्यदेवी गाविसको वडा नं २ अहिले पुरै शोकमा डुवेको छ । भुकम्पमा परेर बाँचेकाहरुपनि भुकम्पको अनुदान रकम लिनको लागि जाँदा बस दुर्घटनामा परेर मरे । सत्यदेवी गाउँ विकास समितिका स्थानिय आयुस बहादुर तामाङले भने, ‘भुकम्प गएपछि यहाँका सवैजना अझैसम्म त्रिपाल र टहरामात्रै छन । भुकम्प परेर मुस्किलले ज्यान जोगाएर बाँचेकाहरु त्यही भुकम्पको अनुदान लिन जाँदा दुर्घटनामा परेर मर्नुपर्यो ।’
दुर्घटनामा मृत्यु भएकाहरु सवैको शव आफन्त र परिवारलाइ जिम्मा लगाइएको छ । शबलाइ सदरमुकामसम्म ल्याउनको बाटोको कठिनाइका कारण घटनास्थलमा नै पुगेर प्रहरीले मुचुल्का बनाएको र डाक्टरलाइ पनि घटनास्थलमै लगेर पाष्ेटमार्टम गरिएपश्चात आफन्तलाइ शव जिम्मा लगाइएको थियो ।

0 Comments:

Post a Comment