Pages

Subscribe:

Ads 468x60px

०७२ वैशाख १२ लाइ सम्झिदा...

भुकम्प जानेवित्तिकै मैले खिचेको पहिलो फोटो !
विहानको खाना खाएर अफिस (दिब्यदर्शन टेलिभिजन) गए । १२ बजेको लागि समाचार अपडेट गर्नु थियो । अघिल्लो दिन बनाएको समाचारमा केही थपघट गरेर ११ः४५ बजेतिर नै एमसीआर मा पठाएपछि अलि फुर्सदिलो भएर फेसबुक चलाउदै थिए, अचानक बसिरहेको कुर्चि हल्लीयो । के भयो कसो भयो केही थाहा पाउन सकेनौँ, अफिसमा भएका ४ जना (राममाया श्रेष्ठ, बाबुराम श्रेष्ठ, शान्ति थापा र म) चिच्याउदै एमसीआरको ढोकामा जम्मा भयौँ । भित्ताको घडि खस्यो, कम्प्युटरको मनिटर टेवुलबाट खस्यो, आधा मिनेट सम्म के भयो भनेर थाहा नपाउदै झ्याल बाहिर गल्र्याम्म घर भत्किएको दृष्य देखेपछि भने बल्ल भुकम्प गएको महशुस भयो । त्यतिवेला सम्म कम्पन रोकिइसकेको थियो तर मन धेरै नै आत्तिइरहेको थियो । धादिङवेशीकै अग्लो घरहरुमा पर्ने घरको पाँचौ तल्लामा थियाँै हामी । अव घर भत्किएर मरिन्छ भन्ने डरले पहिलो कम्पन रोकिइसकेपछि साथीहरुलाइ समेत वास्ता नगरि त्यहाँबाट दौडिएँ । घर भत्किने भयो भनेर धेरै डराएर चप्पल समेत हातमा लिएर तल झरेछु, अफिसको भएको फ्लाटबाट भुइतल्लासम्म आइपुग्न ७४ वटा सिढी झर्नुपर्छ तर हातमा चप्पल लिएर हतासमा दौडिदा मुस्किलले ४० वटा खुट्किला टेकेहुँला ।
भुकम्प आएपछि खुल्ला ठाउँमा बस्नुपर्छ भन्ने दिमागले ठम्याएपछि हतार हतार जिल्ला अस्पताल धादिङको प्राङगणमा दौडेर पुगे । पुल हाउस, धादिङ गेष्ट हाउस र पुर्ण मेडिकल भएको घर भत्किएर सवै पुरिएको थियो । सवैतिर मान्छेको हाहाकार, कोही मान्छे पुरियो भनेर चिच्याउदै थिए । के गर्ने के गर्ने सवै अन्योलमा । यत्तिकैमा हस्पिटलमा घाइतेहरु आउन थालिहाले, सवैभन्दा पहिले पुछारबजारबाट मलाइ.......
पढाउने ध्रुव सरको भाइबुहारी र छोरी (कविता दिदी) लाइ हस्पिटलमा ल्याइयो । सानी छोरी र कविता दिदी रगताम्य भएर हस्पिटलमा ल्याइएपछि म पनि हस्पिटल भित्रै गए ।
भुकम्पको कम्पन आइरहेको थियो । हस्पिटलको बेडमा आमाछोरी नै गम्भीर घाइते अवस्थामा थिए । सानी नानीलाइ एकजना नर्सले मेरो हातमा राखिदिएर अलिकति पिउरी दिएर रगत आइरहेको कानमा राखिदिन भनिन । नानीको कान र टाउकाबाट रगत आइरहेको थियो । रगत यति धेरै बगेको थियो कि मेरो कपडा एकैछिनमा भिजेको थियो ।  कविता दिदी छोरीलाइ के भयो भनेर कराइरहेकी थिइन, एकातिर आँफै गम्भीर घाइते थिइन अर्कोतिर छोरी बेहोस, मलाइ नर्सले अर्का बेडमा राखेर नानीको कानमा पिउरीले छोप्न लगाइदिइन । भुकम्पको कम्पन लगातार थियो हस्पिटलकै नर्सहरु पनि कम्पन आउदा भागाभाग हुन्थ्यो । एकै छिनमा ध्रुव सरहरु ममीलाइ लिएर आइपुग्नुभयो । उहाँको ममी समेत गम्भीर घाइते हुनुभएको रहेछ । कहा के भएर यस्तो भएको भनेर सोध्दा मेरो मामाघर भत्किएर नानी र दिदीलाइ चेपेको भनेपछि मेरो होस हवास उड्यो, घरमा माइजु, ९५ बर्षिय बुढीहजुरआमा, हजुरआमा र हजुरबा हुनुहुन्थ्यो । भर्खरै बनाएको घर पुरै भत्किएको ठानेर हातमै रहेकी सानी नानीलाइ बेडमै छाडेर म पुछारबजार मामाघर भएतिर दगुरेँ । म कुन बेगमा दौडिएको रहेछु आँफैलाइ थाहा थिएन । एक्कासी अहिलेको कामना विकास बैङक अगाडी पुग्दा पत्रकार मुरारि अधिकारी भान्जा क्यामेरा खस्यो भनेर कराएको सुने । म बेहोसीमा दोडिदा दौडिदै कम्मरमा भिरेको क्यामेरा खस्न पुगेछ । झरेको क्यामेरा टिपेर फेरी दगुरे । घरमा पुग्दा सवैजना घरको पछाडी खुल्ला चौरमा जम्मा भएर बसेका रहेछन । मामाघर पारिपटि बस्ने कविता दिदी भुकम्प आएपछि खुल्ला ठाउँमा जान लाग्दा मेरो मामाघरको छतको गाह्रो भत्किएर खसेर घाइते हुनुभएको रहेछ ।
मामाघरका कसैलाइ केही नभएपनि सवैजना आतङकित अवस्था थिए । बीचबजारदेखी पुछारबजारसम्म दौडेर पुग्दा म केही बोल्न नसक्ने भएछु । मेरो कपडा र हात अघि सानी नानीलाइ हस्पिटलभित्र लिदा रगतले भिजेको थियो । मेरो अवस्था देखेर हजुरआमा र माइजु बोल्न नसक्ने, लगातार कुदेर पुगेकाले म बोल्न नसक्ने ! त्यो अवस्थामा म एकछिन सम्म बेहोस जस्तै भएछु ।
पछि पानी खाएपछि मात्र बोल्न सक्ने भएछु । २ घण्टापछि सवै आफन्तहरु र घरपरिवारको अवस्थाबारे जानकारी भएपछि मात्रै रिपोर्टिङ गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि बाइक लिएर बजारको अवस्था बुझन निक्लिए । जताततै अस्तब्यस्त सवै मानिस सडक र खुल्ला चौरमा । कच्ची घरहरु सवै भत्किएका थिए । के विषयमा रिपोटिङ गर्ने सवै अन्योल । झट्ट दिमागमा आयो अस्पताल जाने र त्यहीबाट रिपोर्टिङ गर्ने । हत्तपत्त बाइक लिएर फेरी जिल्ला अस्पताल पुगेँ, सदरमुकाम आसपासबाट घाइतेहरु अस्पताल ल्याउने क्रम बढिरहेको थियो । अस्पताल पुगेपछि अप्रिय खवर सुने अघि बेडमा छाडेर गएको सानी बहिनीले संसार छोडिसकेकी रहिछन, साहै्र नमज्जा लाग्यो । रिपोर्टिङ गर्ने जाँगर आएन । फेरी कविता दिदीको नजिक जानपनि सकिन, लगातारको पराकम्पनका कारण अस्पतालको आगँनमै त्रिपाल टाँगेर घाइतेहरुको उपचार सुरु भएको थियो । त्यतिबेलै काठमाण्डौ स्थित अन्नपुर्ण पोष्टको कार्यलयबाट फोन आयो धादिङको के छ अवस्था भनेर ? के भन्ने अन्योलमा परे त्यतिबेला सम्म अस्पतालमै मुत्यु हुनेको सङ्ख्या ३ पुगेको थियो । गाउँ गाउँबाट एम्वुलेन्स पठाउन फोन आएको भन्ने सुनेर अनुमानको भरमा पहिलोपटक समाचार टिपाए १० जनाको मृत्यु ३० जना घाइते ।
विद्युत सेवा र इन्टरनेट बन्द भएको थियो । धादिङवेशीमा सवैजसो संचारमाद्यम बन्द भएका थिए । समाचार पठाउनै समस्या भएपछि जागिर पनि फोनकै भरमा चल्यो । जाने ठाउँ कतै थिएन । दुइपटक सम्म फोनबाट समाचार टिपाएपछि अलि फुर्सदिलो बने । दिनभर अस्पतालमै बसे । सदरमुकाम आसपासका गाविसबाट घाइतेहरु ल्याउने क्रम जारी थियो । यत्तिकैमा साथीहरु निर्माण गोपाली, सुमन परियार र म संगै बस्ने निर्णय भो । जिल्ला प्रहरी कार्यलयको मेसमा खाना खाएर रातभर जिल्ला अस्पतालको प्राङगणमा बेन्चमा बसियो । अस्पतालमा सिमित कर्मचारी बाहिरबाट ल्याइएका घाइतेलाइ स्टेचरमा बोकेर अस्पताल भित्र सम्म लैजान सहयोग गरियो । विरामी नआएको बेला बेन्चमा सुतिन्थ्यो तर बेला बेलामा आउने पराकम्पनले निदाउन दिदैनथ्यो । रातभर जिल्ला अस्पताल प्राङगणमा घाइतेहरुसंगै बसियो ।
उता गाउँमा घर भत्किएको खवर आएको थियो । यता अन्नपुर्णको कार्यलयबाट सदरमुकाम नछोड्न आदेश, घर जाने मेसो मिलिरहेको थिएन । फोनमा सम्पर्क भइरहेको थियो । तर विद्युत सेवा र इन्टरनेट सेवा अवरुद्ध भएकाले रिपोर्टिङ पनि फोनबाट मात्रै भइरहेको थियो । १२ गतेको भुकम्प पछि अवरुद्ध भएको विद्यूत सेवा १५ गतेसम्म सुचारु भएको थिएन । रिपोर्टिङ पनि फोनबाटमात्रै भएकाले काम गर्न त्यती गाह्रो भएको थिएन । साँझ एकपटक जिविका होटलमा गएर दिनभरिको समाचार जेनेरेटर चलाएर पठाइन्थ्यो । अरुवेला सधै हस्पिटल वरिपरिकै बास भयो । त्यतिन्जेलसम्म त टेलिकम टावरको ब्याकअप सकिएपछि मोवाइल सेवा पनि बन्द भयो । सवैतिर संचार सम्पर्क विच्छेद । १५ गते विहान जिल्ला विकास समितिका इन्जिनियर सुमन गिरि, सुचना अधिकृत भोला गौतम रेडक्रसका साथी सुजन रेग्मीसंग सल्लाह गरेर वीचबजारदेखि बैङकको जेनेरेटर चलाएर भएपनि मोवाइलको टावर संचालन गर्ने सल्लाह भएपछि त्यसको तयारीमा लाग्यौँ । तारहरु किन्न जिविसले पैसा दिने भनिएपनि त्यो सहज भएन ।
त्यसपछि विद्युत प्राधिकरणमा विद्युत बनाउन दवाव दिने भनेर हाकिमसंग कुरा गर्न गयौँ । बजारमा भत्किएका घरहरुमा विद्युत लाइन काटेदेखि विद्युत दिन सकिने बताएपनि हाकिमले सवै कर्मचारी घर गएकोले विद्युत बनाउन नसकिने गैर जिम्मेवार उत्तर दिए । तत्कालै सुमनजी र भोलाजीले सिडियोलाइ सवै कुराको जानकारी गराउनुभयो । सिडियोले तत्काल काम गर्न आदेश दिएपछि जुरेथुम डाँडामा रहेको विद्युत बनाउने मिस्त्रीदाइलाइ लिन उनको घरमै गइयो । उनीपनि भुकम्पले चर्काएको घरमा टेको लगाउदै रहेछन । त्यसपछि उनलाइ धादिङवेशी ल्याएर भत्किएका घरहरुमा लाइन काट्न लगाएर धादिङवेशी बजार आसपासमा मात्रै विद्युत सेवा सुचारु गराइयो ।
विद्युत सेवा सुचारु भएपछि संचारमाद्यमहरु पनि संचालन भए । संचारसेवा पनि सुचारु भयो । त्यसपछि दिब्य दर्शन टेलिभिजन संचालन गरेर नियमित रिपोर्टिङमा लागियो । भुकम्पको पहिलो ४ दिनसम्म संगै रहेका साथीहरु सुमन, निर्माण, राम थापाहरु घाइतेहरुको सेवामा लागे । म चाँही विभिन्न गाउँ विकास समितिहरुको स्थलगत रिपोर्टिङमा  लागे ।

गोेरखा भुकम्प
धादिङ विशेष स्मारिका २०७३ मा प्रकाशित



0 Comments:

Post a Comment