Pages

Subscribe:

Ads 468x60px

कहिलेसम्म चुस्ने मृतकको नामको भत्ता !

वडा नं ५ कि रमिला नेपाली र वडा नं ४ कि साइली श्रेष्ठको
नाममा दुइ ठाउँमा भत्ता बुझेको भर्पाइ !
त्रिपुरेश्वर गाउँ विकास समिति वडा नं ६ की विष्णुमाया भुजेलको मृत्यु भएको ११ वर्ष भयो तर नेपाल सरकारले प्रदान गर्दे आएको सामाजिक सुरक्षा भत्ता अन्तरगतको बृद्ध भत्ता भने उनको नाममा अझैसम्म भुक्तानी भइरहेको फेला परेको छ । त्यस्तै वडा नं ६ कै इनकुमारी मगर र कोषीकुमारी मगर वितेको करिव १४ वर्ष भइसक्यो तर उनीहरुको नाउँमा पनि सरकारले प्रदान गर्ने गरेको सामाजिक सुरक्षा भत्ता भने चालु आर्थिक वर्षको प्रथम चौमासिकको पनि निकाशा भएर भुक्तानी भइसकेको छ ।त्यस्तै त्रिपुरेश्वर गाउँ विकास समितिकी वडा नं ४ की साँहिली श्रेष्ठको नाम सामाजिक सुरक्षा भत्ता पाउनेहरुको सुचि अन्तरगत एकल महिला र बृद्ध दुवै तर्फ छ । अहिलेसम्म उनको दुवै नाममा भत्ताको रकम निकासा भइरहेको छ तर साँहिली श्रेष्ठले एक ठाउँको मात्रै भत्ता बुझेको बताइन । गाउँ विकास समितिको सामाजिक सुरक्षा भत्ता निर्देशिकामा पनि एकै ब्यक्तिले फरक फरक सुचिबाट भत्ता लिन नमिल्ले उल्लेख गरिएको भएपनि उनको नाम दुवैतर्फको लिष्टमा चढाइ रकम निकाशा भइरहेको देखिएको हो ।
खहरेका स्थानिय गणेश सापकोटाले भने, ‘त्रिपुरेश्वर गाउँ विकास समितिमा २ सय ७० जना मात्रै छन होला सामाजिक सुरक्षा भत्ता पाउने ब्यक्तिहरु तर गाउँ विकास समितिको तथ्याङकमा भने ३ सय ४५ जनाले भत्ता बुझेको देखिन्छ ।’ त्रिपुरेश्वर गाउँ विकास समितिको गाउँपरिषदमा सामाजिक सुरक्षाको भत्ताको विषयमा कुरा उठेपछि खोजिनिति गर्दा गाविस कार्यलयबाटै अनियमितता भइरहको फेला परेको हो ।
मृतक विष्णुमायाकी भुजेलकी छोरा दिलबहादुर भुजेलले भने, ‘२०६१ सालमा आमा वितेपछि हाम्रो परिवारमा कसैले पनि उनको नाममा भत्ता बुझेको छैन तर गाउँ विकास समितिको तथ्याङकका भने अहिलेसम्म भत्ता वितरण भइरहेको रहेछ ।’ गाउँ विकास समितिका सचिवहरु समय समयमा फेरिरहने भएकाले यसरी मृत्यु भएकाहरुको नाम र फर्जी नाममा सामाजिक सुरक्षा भत्ताको लिइरहेको काममा गाउँ विकास समितिकै पुर्व सचिवहरु अथवा कर्मचारीहरुको संलग्नता रहेको हुनसक्ने भन्दै स्थानियहरुले तत्काल अनुुसन्धान गर्न माग गरेका छन । स्थानिय उदय विक्रम घलले भने, ‘यसमा गाउँ विकास समितिका सहायक मात्र होइन पहिलेका गाविस सचिवहरुको पनि मिलेमतो भएको हुनसक्छ, तसर्थ यो भन्दा पहिलेको सवै गाउँ विकास समितिका सचिवहरुलाइ पनि अनुसन्धानको दायरामा ल्याएर छानविन गर्नुपर्छ ।’
अर्का स्थानिय सुमन धरेलले भने, हाम्रो ४ नं वडामा रहेको डण्डकुमारी रिजालको २०५४ सालमै मृत्यु भएको थियो तर गाउँ विकास समितिको रेकर्डमा उनले अहिलेसम्मको सामाजिक सुरक्षा भत्ता बुझेको देखिन्छ ।’ गाउँ विकास समितिबाटै  अनियमितता भइरहेको आशंका लागेपछि गाविस सचिवको अध्यक्षतामा गाउँस्तरीय नेता तथा स्थानियहरुको बैठक बसी तत्काल गाउँ विकास समितिका सवै काजजातहरुमा जफत गरि अनुसन्धान गर्न त्रिपरेश्वरका स्थानियहरुले प्रमुख जिल्ला अधिकारीलाइ गुहारेका छन ।
गाउँ विकास समितिका सचिव लीला विश्वकर्माले भने आफु भर्खरै गाउँ विकास समितिको जिम्मवारी
लिएकाले आफुले जिम्मेवारी लिँदा सामाजिक सुरक्षा भत्ताको प्रथम चौमाशिक वितरणको लागि गाविस सहायकले पेश्की लिएर पनि पछ्र्यौट गरिसकेको बताए । ‘म त्रिपरेश्वर गाउँ विकास समितिमा आएको भर्खर २ महिना भयो, अनियमितताको विषयमा मलाइ पुर्ण जानकारी छैन, गाविसका स्थानियहरुबाट भत्ता वितरणमा अनियमिता भएको भन्ने गुनासो आएपछि सर्वदलिय भेला बोलाएर छानविन गर्न जिल्ला प्रशासनमा स्थानियहरुलाइ नै पठाएका छौ ।’
यता गाउँ विकास समितिका सहायक मान बहादुर थापाले भने आफुले मृत्यु भएको र फर्जी नाम बनाएर भत्ता वितरण नगरेको बताएका छन । उनले भने, ‘पहिले मैले मृत्यु भएकाहरुको नाम मेटेर जिल्ला विकास समितिमा भत्ता वितरणको फाइल पठाउँथे अहिले हाकिमले(तत्कालिन गाविस सचिव पुरुषोत्तम मिश्र) ले नै नाम नकेरी पठाउन भन्नुभयो । अहिले त सवैको नाममा भुक्तानी भएको देखिएको रहेछ ।’ थापाले आफुले कुनै अनियमितता नगरेको र हाकिमको लगाए अनुसारको काम गरेको बताए । तत्कालिन गाउँ विकास समितिका सचिवले मृतकहरुको नाम केरेर जिल्ला विकास समितिमा फाइल पठाउदा जिविसले बुझ्न अस्वीकार गरेकाले मृतकहरुको नाममा कुनैपनि केरमेट नगरी सामाजिक सुरक्षा भत्ता वितरण गर्न आदेश दिएको थापाले बताए । भत्ता लिएको भर्पाइमा पनि दोहोरो नाम र मृतकहरुको नाममा रकम बुझेको एकै किसिमको सहीछाप भएकाले तत्कालिन गाउँ विकास समितिका सचिव र जिल्ला विकास समितिकै कर्मचारीहरुको मिलोमतो रहेको हुन सक्ने स्थानियहरुले बताएका छन ।



0 Comments:

Post a Comment