Pages

Subscribe:

Ads 468x60px

शंकास्पद मान्छेसित हिसिलाको विशेष संवन्ध

जयन्ति लुइँटेल
हिसिला म्यामले मलाई फ्रेण्ड रिक्वेष्ट पठाएकी रहिछन् । म सोचमग्न भएँ । निकै वेरसम्म दिमाग खराव भयो । धुमील हुन लागिसकेका अतितका पानाहरु एकपछि अर्को तँछाड मछाड गर्दै आँखा अगाडि सल्वलाउन थाले । ०६२ / ०६३ को आन्दोलन अगाडि अर्थात “ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति अन्तर्गत” भन्दै कसैलाई एक तह झार्दै त कसैलाई एक तह उकाल्दै थिए । कसैलाई भने विशेष अवस्था भन्दै उही तहमा विराजमान गराउँदै पुष्पकमलले वर्षमान पुनलाई उपत्यका र ताम्सालिङ्गलाई विशेष कमाण्ड भनेर यहाँको प्रमुख वनाएर पठाउदा म चार आर्कमा विभाजित उपत्यकाको उत्तरी आर्कको इन्चार्ज थिएँ । कार्यालयको पनि जिम्मा थियो । अनन्तको प्रवेश पश्चात उपत्यकाको कार्यालय सचिवको मात्र जिम्मेवारी दिइयो । “प्रत्याक्रमणको चरण, उपत्यकामा अन्तिम लडाइँ लड्ने तयारी , ढाडमा टेकेर टाउकोमा हान्ने के के हो के के भनियो ।

अधिकांश कार्यकारी पदमा रणनैतिक सोचका साथ आफ्ना हनुमानहरुलाई सेटिङ्ग गरिएको रहेछ । अवको अवस्थामा कार्यालयको कामको महत्व भनेर फुलबुटा भर्ने काम भयो । मैले पत्याएँ । त्यसपछि मैले आफ्नो क्षमताले भ्याए अनुसार निर्देशन मुताविक काम गरें । ०६२ / ०६३ को आन्दोलन पछि मलाई तिनवटा जिम्मेवारी दिइएको थियो । १. राज्यद्धारा वेपत्ता परिवार समाजको कोर्डिनेशन गर्ने । २. उपत्यकामा भएका अल्पसंख्यक जातीय मोर्चाको संगठन र संयोजन गर्ने । ३. उपत्यका व्यूरोको कार्यालय सचिवको जिम्मेवारी ।
सातदोवाटो नजिकैको एउटा पार्टी प्यालेसमा भएको वेपत्ता परिवार समाजको प्रथम राष्ट्रिय भेलामा वर्षमान पुनले थर्काएको अहिल्यै जस्तो लाग्छ । “हामी आईसक्यौं । सुरु गछौं ।“ तर प्रतिवेदन म तयार गर्दै थिएँ । भेला ११.०० वजे पुष्पकमल दहालले उद्घाटन गर्ने भनिएको थियो । अघिल्लो दिन मात्र वर्षमानले मलाई भिमसेन गोला नजिक रहेको उनको कोठामा वसेर अन्तरवस्तु यो यो रहने गरी प्रतिवेदन तयार गर्न भनेका थिए । प्रतिवेदनको तयारीका साथै अन्य काममा लाग्नु परेकाले म उनीहरु भन्दा अगाडि पुग्न सकेको थिइन ।
यसरी केही समय वितेपछि हिसिलालाई भ्यालीको सहइन्चार्ज वनाएर ल्याइयो । म हिसिलासँगै बस्ने कुरो भयो । वनस्थली चोक नजिकै उनको फुपूको छोरीको घरमा तिन कोठा भाडामा लिएर हामी चार जना स्थायी रुपमा बस्न थाल्यौ । म, हिसिला, नारायणदेवी (हिसिलाको सहयोगी ) र उनको मोटरसाइकल चलाउने ड्राईभर (मिलन) । त्यतिखेर पुष्पकमल र वावुरामहरु एकै खालका लुगा लगाएर होटल होटल चाहारेर बस्ने गर्थे ।
पार्टीमा सबै कुरा ठिक छ । सबै नेताहरु जनताप्रति इमान्दार छन् । हिजोका गुटफुटको स्थिति अन्त्य भइसक्यो । अन्तिम मोर्चा लड्न सबै नेताहरु काठमाण्डौंमा जमघट भएको भन्ने नेताहरुको आन्तरिक स्कुलिङ्गप्रति म पूर्ण विश्वस्त थिएँ । तर सबै कुरा खुल्ला । संगठन खुल्ला । नेताहरु खुल्ला । अन्तिम लडाइँको तयारीको काम सून्य । जनमुक्ति सेना थनक्याउने प्रक्रिया तीव्र । के हो जस्तो भने अवस्यै लाग्थ्यो । यत्रो क्रान्तिको प्रक्रियालाई यहाँ सम्म ल्याउने लिडरशीपको यो समूहले धोका दिनै सक्दैन भन्ने विश्वासले अन्य आशंकाहरुलाई नियन्त्रण गर्थ्यो ।
हिसिलासँगका सहकार्यका सुरुका दिनहरुदेखि नै मैले असहज महसुस गर्नथालें । खास गरी खासखास मान्छेसँगको उनको विशेष सम्वन्ध मेरालागि असहज भयो । पार्टीमा गुट छैन भन्ने मेरो विश्वास र हिसिलाको क्रियाकलापमा वेमेल थियो । उनको विशेष मान्छेको फोन आउँदा उनी खान लागेको खाना छोडेर आफ्नो कोठाभित्र लुसुक्क पस्थिन । ढोका थुनेर फोन गर्थिन् । त्यहाँ आउने, वस्ने, खाने मान्छेको उपस्थिति हेर्दा लाग्थो “त्यो उपत्यकाको पार्टीको पुरै अधिकार प्रत्यायोजन गरिएको माओवादीको कार्यालय नभएर हिसिलाको गुट कार्यालय हो ।” म कार्यालय सचिव । आवश्यक काम सबै गर्थें । उनको सुरक्षाको नैतिक भौतिक जिम्मेवारी पनि मेरो काधमा थियो । भोलि केहि भइहालेको अवस्थामा त म नै सबभन्दा पहिला कठघरामा उभिनुपर्ने हुन्थ्यो । सायद विशेष मान्छेसँगको भेटघाटको चाप त्यहाँ निकै वढेको महसुस भएपछि उनी भेटघाटलाई आफन्तकोमा सार्थिन् ।
अक्सर त्यस प्रकारको भेटघाट बनस्थली चोक नजिकै रहेको उनकी दिदी न्हूच्छे शोभाको घरमा हुने गर्थ्यो । एक दिन म वाहिरबाट कोठामा पस्दै थिएँ । उनलाई ढोकैमा भेटें । उनी केही हड्वडाए जस्ती भइन । मैले “कहाँ जान लाग्नु भयो दिदी ? मपनि जान्छु” भनेर पछि लाग्न खोज्दा उनले “यहाँ नजिकै । पर्दैन” भन्दै वाटो क्रस गरिन । मलाई चिन्ता लाग्यो “केहि भइहाल्यो भने त ?” म उभिएर उनी गएको वाटोतिर हेरिरहेँ । उनका पाइलाहरु उनकी दिदीको घरतिर सोझिए । म अलि ढुक्क भएँ । लगत्तै मेरा आँखा देवेन्द्र पौडेल ‘सुनिल’ माथि पर्यो जो हिसिला लागेको वाटोतिर आफ्ना पाइला डोर्याउँदै थिएँ । मलाई दिनप्रतिदिन असहज महसुस वढ्दै गइरहेको थियो ।
उनकी सहयोगी नारायणदेवी श्रेष्ठ जो हाल नेवाः राज्य समिति सदस्य हुनुहुन्छ, पक्का सहयोगीको रुपमा काम गर्नुहुन्थ्यो । नुहाइदिने, पानी तताएर वाथरुममा पुर्याउनेदेखि हिसिलाको भित्रि कपडा सम्म धुनुहुन्थ्यो । हिसिला कहिल्यै आफ्ना कुनै कपडा धुदैनथिन् । नेता र कार्यकर्ताको भन्दा मालिक्नी र नोकर्नीको जस्तो सम्वन्ध देखा पर्यो । मलाई असैह्य भयो । समानताको संग्राममा लड्दै भिड्दै आएको एक सदस्यको हैसियतले मैले नारायणदेवीलाई बोलाएर “यसरी भित्री कपडा नधोउ” भनें । उनले हिसिलालाई भनिदिइछन् । त्यपछि हिसिलाले मसँग स्पष्टिकरण लिइन । मैले सामान्य अवस्थामा हरेक कम्यूष्ठि पार्टीका सदस्यको आचरण यस्तो हुनुपर्छ भनेर आफूले जाने सिकेको कुरा राखें । उनी आगो भइन । त्यपछि सुरु भयो मलाई अनावस्यक दुःख दिने प्रक्रिया ।
एक दिन मलाई ज्वरो आएको थियो । म बास स्थानमा नजाने सोचले सुकेधारामा बसेको थिएँ । हिसिलाले फोन गरिन । मैले आफ्नो अवस्था र बसेको स्थान बताएँ । उनले आफ्ना लागि डायरी किन ल्याईदिन भनिन । मैले आफुलाई ज्वरो आएकोले मिलन (उनको ड्राइभर) लाई एउटा राम्रो खालको डायरी किनेर ल्याइदिन भन्छु भनें । उनले “तपाइँलेनै ल्याइदिनु पर्छ । भोलि ६.०० वजे जसरी पनि यहाँ ल्याइपुर्याइ दिनु । म अरु कुरा जान्दिन ” भनिन् । म लगभग ६ महिना जति हिसिलाको कार्यालय सचिव भएर वसें । विविध अनुभूति गरेँ । त्यतिखेर पचाउन मलाई निक्कै गारो भए पनि यो मेरा लागि महत्वपूर्ण नकारात्मक नीधि हो । यो भविस्यको लागि निकै कामयावी हुनेछ ।
अँ, म फेसवुकको कुरा गर्दै थिएँ । मलाई तिमीले फ्रेड रिक्वेष्ट पठाएकी छौ, हिसिला । यो विचमा सबैले छर्लङ्ग देख्ने गरी तिम्रो र मेरो वर्ग सामान्य रुपमा होइन आमूल परिवर्तन भएको छ । तिम्रा स्वदेश र विदेशवाट झिकाइएका, ल्याइएका, उपहारका नाममा घुस स्वरुप पाइएका गहना र वस्त्र नै एकै ठाउँमा थुपार्ने हो भने वालुवाटारको चारवटा कोठामा नअट्ने भइसक्यो होला । तर म एउटा न्यानो स्वीटर किन्न सकेको छैन । कहिले काँही १५ रुपैयाँ साथमा नभएर दुइ घण्टाको बाटो हिँड्छु । तिमी र तिम्रा आसेपासेका चिल्ला गाडीको धुँवा धुलोले मलाई रङ्ग्याउने गर्छन् । तिमी ५ करोड भन्दा माथिको घर खोज्न कालो पुलतिर पुगेकि रहिछौं । तिमीले तिम्रो र तिम्रा आफन्तका लागि के के गर्यौ जगत विज्ञ छ । यहाँ उल्लेख गरे मात्र पुग्छ । विस्तार गर्न आवस्यक छैन् ।
हिसिला म्याम, कम्यूनिष्ठको नामको कलंक हौ तिमी । यत्रा मान्छेलाई मुक्तिको सपना देखाएर मर्न लगायौ । वेपत्ताका आफन्तजनले मान्छे वेपत्ता कार्यमा प्रत्यक्ष संलग्नलाई कार्वाहीको माग गर्दै तिम्रो दैलो अगाडि आउँदा पुलिस लगाएर लाठी र बुट बर्सायौ । सडक दुर्घटनामा मरेकाको परिवारलाई दिइने जति राहत पनि युद्धमा सहिद भएकाका परिवारले पाएका छैनन् ।
अहिले आएर सर्वहारा वर्गीय अधिनायकत्व, गुणात्मक परिवर्तन, वल प्रयोगको अपरिहार्य सिद्दान्त सुदुर विषय बने । यही संसदीय आहालमा डुव्नु रहेछ त किन यत्रा अमुल्य जीवनसँग खेलवाड गर्‍यौ ? केही नयाँ दलाल जन्माउनलाई ? अतः हिसिला म तिमिलाई तीव्र घृणा गर्छु । तिम्रो र मेरो रुप, रंग, आकार, प्रकार, अधार केही मिल्दै मिल्दैन । यदि यो संसारमा कसैले कसैलाई गर्ने घृणा मापन गर्ने यन्त्र हुन्थ्यो भने मैले तिमीलाई गर्ने घृणाले सगरमाथालाई माथ गर्छ भनेर पुष्टि गर्न सक्ने थिए । तर ….. । त्यसैले तिमीलाई साथीको रुपमा स्वीकार्न सक्तिन हिसिला, सक्तिन ।
(जयन्ति लुइँटेलको फेसबुकबाट लिईएको हो ।)
साभार नेपालप्लस डट कम वाट

0 Comments:

Post a Comment