Pages

Subscribe:

Ads 468x60px

कटवालको आत्मकथा : केही सत्य र केही भ्रम

साउनको सुरुवाती दिनहरुमा नै विभिन्न सामाजिक संन्जालमार्फत पुर्व प्रधान सेनापति रुक्माङगत कटवालको आत्मकथा आउदै छ भन्ने चर्चा सुनियो । तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग टकराव भएकै कारण प्रचण्ड सत्ता नै छा्ड्न वाध्य भएकाले पनि उनको आत्मकथामा केही त्यस्ता रोचक कुराहरु नै छन होला भन्ने लाग्यो र समय मिलाएर पढ्ने विचार गरे । यस विचमा विभिन्न राष्ट्रिय दैनिक पत्रपत्रिकामा छापिएका पुस्तकअंशले पनि आत्मकथा पढ्नको लागि प्रेरित गरायो ।
ट्वीटर लगायत समाजिक संन्जालमा आत्मकथा प्रकाशित भएकै दिनदेखि उनले आत्मकथामा आफ्नो अहमपनाको वढि व्याख्या गरेका छन भनेर आलोचना सूरु भइसकेको थियो । कतिले नेपाली सेना भनेको कटवाल र कटवाल भनैकै नेपाली सेना हो भन्ने जस्ता अर्थ पनि लगाए । यस वीचमा मैले पनि उनको आत्मकथाको पहिलो अध्याय १६ दिने लडाँइ पढ्न भ्याइसकेको थिए । मलाइ पनि लाग्यो उनले आत्मकथाभरि आफ्नो मपाइत्वको खुवै बखान गरेका रहेछन । पुस्तक प्रकाशित भएको साता त ट्वीटर खोल्यो, कटवालकै अहमताको आलोचना गरिएको ट्वीटहरु मात्र देखिन्थे । मलाइ पनि पहिलो अध्याय पढिसक्दा उनको अहमता अलि वढी नै भएजस्तो लाग्यो तर सवै पुस्तक पढिसक्दा भने त्यस्तो लागेन ।
९ वर्षको उमेरमा राजा महेन्द्रको हात समातेर काठमाण्डौ छिरेको ओखलढुङगाको एउटा फुच्चे सारा विश्वले प्रशंसा गरेको नेपालीे सेनाको प्रधानसेनापति वन्न सफल भएको घटनाक्रम कम रोचक छैन, भलै उनले आफ्नै आत्मकथामा आफ्नै गुणगान वढि नै गाएका किन नहुन ।
अमेरिकाको रेन्जर तालिममा हवाइजहाजवाट प्याराजम्प हान्दा पुर्नजीवन पाएको कुरा देखि, हङकङमा शाही नेपाली सम्पर्क अधिकारीको रुपमा काम गर्न गएको वेला हङकङलाइ रिझाएर आफ्नो कार्यलयलाइ कुटनितिक नियोगको मान्यता दिलाउन सफल कटवालको खुवीलाइ पनि मान्नै पर्छ ।
उनले आत्मकथामा घुमाउरो पारामा गणतन्त्र ल्याउनमा मेरो ठुलो हात छ भनेपनि राजाको गुणगान गाएर र........
राजाको भक्त वनेर सेनापति भएको मान्छेले दलहरुले ल्याएको गणतन्त्र कसरी सहर्ष स्वीकार गर्नसक्यो ? यो कुरा पनि सोचनिय छ  ।
तात्कालिन राष्ट्राध्यक्ष गिरिजा प्रसाद कोइरालासंगको सम्वन्धका कतिपय सम्वादहरु मनगढन्ते जस्ता पनि लाग्छन । उनले राष्ट्राध्यक्ष जस्तो व्यक्तिसंग गरेका दोहोरो सम्वादहरु कति सत्य छन कति असत्य छन त्यो त कोइराला मरेर गइसकेपछि थाहा हुने कुरा भएन तर प्रचण्डले पनि कटवालले मेरो रौ पनि हल्लाउन सक्दैन भनेर दिएको अभिव्यक्ति चाहि साह्रै अशोभनिय नै लाग्यो । कटवालले प्रचण्डको रौ हल्लाउन सकेकी सकेनन त्यो त थाहा भएन तर कटवाल संगकै टकरावका कारण देशकै शक्तिशाली प्रधानमन्त्रीको पद छोडेर बालुवाटारवाट पार्टी कार्यलय फर्कन परेको त सवैलाइ थाहा भएकै कुरा हो ।
तात्कालिन अवस्थामा भर्खरै सार्वजनिक भएको माओवादीले खुल्ला मन्चमा आमसभा गर्दा कार्यकर्ताहरु नअटाएर सैनिक मन्त्र टुडिखेलभित्र पनि पसेका हुन । आत्मकथामा उनले भनेजस्तो आफ्नै एकोहोरो वलमा सैनिक मन्चमा माओवादी कार्यकर्तालाइ प्रवेश निषेध गरिएको दावी केही चर्चित अनलाइन र व्लगहरुले फोटोसहित समाचार छापिदिएर हावा कुरा प्रमाणित गरिसकेका छन । अझ उनको आत्मकथामा प्रचण्डले भाषणमा वोलेका केही वाक्यहरु र खुल्लामञ्चको कार्यक्रममको तिथिमिति फरक पर्नुले पनि यो दावी खोक्रो हो भन्ने कराको पुष्टि गर्दछ ।
माओवादी खुल्ला राजनितिमा आएपछि उसलाइ उसकै चैते समर्थकले सिध्याएको कटवालको कथन वास्तविक नैै हो जस्तो लाग्छ । संकटकालमा माओवादीको खुलेर विरोध गर्ने र गाउँगाउँवाट माओावादी लखेट्ने राजावादी देखि अन्य व्यक्तिहरुलाइ फुलमाला लगाएर पेरिसडाँडामा  स्वागत गरेका प्रचण्डले पहिलो संविधान सभाको चुनावले शक्तिशाली पार्टी वनाएको आफ्नो दललाइ दोस्रो संविधानसभाको चुनावले तेस्रो वनाइदिएपछि प्रचण्ड स्वयंले पनि यो स्वीकार गरेका होलान ।
आत्मकथामा माओवादीको अवसरवादी चरित्रलाइ उनले केही मात्रामा कोट्याएका पनि छन । सेनामा नया भर्ना गर्न हुदैन भनेर बाहिर सार्वजनिक कार्यक्रममा विरोधका स्वरहरु ठुलो ठुलो पार्ने अनि मन्त्रालयवाट र पार्टी कार्यलयवाट चाहि मेरा यो यो व्यक्तिलाइ भर्ना गराउनु पर्यो भनेर माओवादी नेतावाटै सिफारिस जाने गरेको कुरा पनि गजवकै लाग्यो ।
आफुसंग कुरा मिलुन्जेल र आफ्नो स्वार्थ पुरा नहुन्जेलसम्म कटवालसंगै वसेर सिभाज रिगल, अनेक टिटविट्स र ह्वीस्कीका गिलासहरु ठोक्काउने प्रचण्डले कटवालवाट आफु र आफ्नो पार्टीको स्वार्थ पुरा हुने छाँटकाट नदेखिएपछि ३ महिना मात्र जागिर खान वाँकी रहेको व्यक्तिलाइ लातहानेर निकाल्ने कुचेष्टा गरेकै कारणले आफु तल झर्न वाध्य हुनुप¥यो । शान्ति प्रक्रियामा आएर माओवादी सेनाहरु क्यान्टोनमेन्टमा वसेदेखि नैै माओवादीका नेताहरुले नेपाली सेनामा माओवादी लडाकुको सामुहिक प्रवेश  हुनुपर्दछ भनेर वोल्दैआएका थिए । तर त्यसको नेपाली सेना र अन्य राजनितिक दलहरुले विरोध गरिरहेकै थिए । प्रचण्ड प्रधानमन्त्री भएको पालामा १९ हजार  माओवादी लडाकुलाइ सेनामा सामुहिक प्रवेश गराउन माओवादी सकारले अनेक तिकडम त अपनाएकै हो, यो कुराको पुष्टि गर्न कटवालको आत्मकथा आवश्यकता नै पदैन, आठ जर्नेलको अवकास प्रकरण र सेनामा पनि ३० वर्षे उमेर हद ऐन ल्याउनुले नै यसको पुष्टि गर्छ । माओवादी लडाकुलाइ सेनामा साुमहिक समायोजन रोक्न अन्य राजनैतिकदलहरुले पनि खुलेर विरोध गरेकै हुन । आफ्नै प्रयासले मात्र सामुहिक प्रवेश रोक्न सफल भएको, आफ्नै अडानले गर्दा देश यो अवस्थामा आएको, आफ्नै ओहोदावरावरको नेपाल प्रहरी र ससस्त्र प्रहरीका आइजीपीहरुलाइ थर्काएर काम लगाएको जस्ता कटवालको दावी चाहि आत्मकथाको काल्पनिक कथा नै हो ।
कटवालको आत्ककथा पढ्नुभन्दा अगाडी न कुनै सेनापतिको आत्मकथा पढ्न पाइएको थियो न सुन्न नै । कटवालको आत्मकथा पढेपछि सरसर्ती हेर्दा, कटवाल जतिको निडर र स्वाभिमानी सिपाही नेपाली सेनामा अरु कोही छैन जस्तो लाग्ने वनाउछ, यसको कारण आत्मकथा भित्र उनकै गुणगान वढि हुनुले हो ।  उनको आत्मकथा पढिसक्दा सानोमा सामाजिक कितावमा जंगवहादर राणाको जीवनी पढेजस्तै अनुभूति हुन्छ ।
आत्मकथा लेख्नेजतिले सवै आफ्नै कुराहरुको बखान गरेर कितावको पाना भर्ने हुन । आफैले आफ्नै कथा लेख्ने भएपछि आफ्ना नराम्रा कुराहरु त स्वतः पर्दा पछाडी जाने नै भयो । कटवालको आत्मकथाले पनि त्यही ट्रेण्डलाइ पछ्याएको छ जुन मैले आजसम्म पढेका आत्मकथामा भेटेको छु । समग्रमा भन्नुपर्दा नेपाली सेनाको एउटा सिपाहीको “फौजी व्रिफिङ”लाइ समग्र पाठकले बुझ्ने भाषामा ढाल्न आफ्नो पसिना वगाएका पत्रकारद्वय किरण भण्डारी र सुदीप श्रेष्ठको मिहनत निकै सराहनीय छ ।

0 Comments:

Post a Comment