Pages

Subscribe:

Ads 468x60px

दोहोरो पिडामा सानुकान्छी तामाङ, न श्रीमानको काजक्रिया भयो न सरकारी राहत आयो

मनिष दुवाडी,धादिङ
‘दैवले पनि गरिवलाई मात्रै डस्छ’ भनेर वुढापाकाले यसै भनेका रहेनछन् । छोरीहरुको विहे गर्दा लागेको ऋण तिर्न नसकेर अलिकति भएको पाखोबारी पनि बन्धकी राखी ऋण निकाल्न भनरे काठमाण्डौ गएका मानवहादुर तामाङ कहिल्यै घर नफर्किने गरि काठमाडौको बवरमहलमा गत फागुन १५ गते भएकोे बम विस्फोटमा परि विते । बम विस्फोटको जिम्मा लिने कथित विश्वक्रान्ति समुहको आफ्नो राजनैतिक उद्देश्य त पुरा भयो होला तर त्यहि विस्फोटले धादिङका ३ जना निर्दोष व्यक्ति र उनीहरुको परिवारको सपनालाई क्षणभरमै चक्नाचुर बनाइदियो । घटना लगत्तै स्थलगत निरीक्षणमा गएका गृहमन्त्री विजयकुमार गच्छदारले दोषीलाई कडा कारबाही र पीडित परिवारलाई क्षतीपुर्ती दिने भनेर राजनीतिक भाषण ठोकिहाले । तर राहतको अहिलेसम्म अत्तोपत्तो छैन । राजमार्ग चक्काजाम र नेपाल बन्द गरेपछि मात्रै पीडितले राखेको माग सुन्ने सरकारले ति गरिब निमुखाहरुको मागलाई सुनेको नसुनेझै गरेको छ । जे नहुनुथ्यो त्यो त भइहाल्यो तर घटना पछि अन्तिम संस्कार गर्नका लागि भनेर काठमाडौ गएका मानबहादुरका आफन्तहरुलाई भने फेरी अर्को पीडा थपियो । बम विस्फोटमा परि मृत्यु भएका मानबहादुरकोे ३२ दिनपछि गत चैत १७ गते अन्तिम संस्कार गरेर फर्किएका छोराहरु र छिमेकीहरु पनि धादिङको खानीखोलामा बस दुर्घटनामा परे । त्यस दुर्घटनामा परि मानबहादुरमा सालो अर्थात सानुकान्छी तामाङकी भाइ शमशेर लामाको मृत्यु भयो भने मानबहादुरकै जेठो छोरा मिलनको आँखामा गम्भीर चोट लाग्यो । श्रीमानको मृत्युले विक्षिप्त अवस्थामा रहेकी सानुकान्छी तामाङलाई आफ्नो भाइको मृत्युले झनै मर्माहत बनाएको छ । जसोतसो र विविध समस्याका वावजुत पनि काठमाडौ मै पिताको दाहसस्कार गरेर
फर्किएका मानबहादुरका छोराहरु खर्च नभएर काजक्रिया गर्न नसक्दा समस्यामा परेका छन् । तामाङ जातीको परम्परा र संस्कार अनुरुप काजक्रिया (घेवा) गर्नको लागि घरमा खर्च समेत नभएर घटना भएको झण्डै दुइ महिनासम्म सेतो कपडा लगाएर बस्न बाध्य भएका तीन दाजुभाइको अवस्था हेर्दा जो कसैको पनि मन भक्कानिएर आउछ ।


    ‘बिहान बेलुका छाक टार्नको लागि पनि धौ–धौ हुने घरमा पिताको काजक्रिया गर्न कहाँबाट पैसा जुटाउने’ मिलनले आँखाबाट आसु बगाउदै भने– ‘घरमा पैसा छैन सरकारले राहत त दिने भन्यो तर अहिलेसम्म दिएको छैन कसरी वावुको काजक्रिया सम्पन गर्ने ।’ उनले यती भन्दै गर्दा त्यहाँ उपस्थित धेरै जसोको आँखा रसाए तर के गर्ने सहानुभुती प्रकट गर्नुभन्दा बाहेक त्यहाँ उपस्थित गाउलेसंग अरु कुनै विकल्प थिएन । वरपरका छरछिमेकीले विहान बेलुका छाक टार्नको लागि केही न केही सहयोग गरिरहेकै छन् तर लाचार र निरिह यो सरकारले आफ्नै देशमा यी गरिब जनताको दुख देखेन र भन्यीरह्यो हामी राहत दिने प्रक्रियामा छौ । सरकारी राहत कुरेर बसिरहेका सानुकान्छी तामाङ र गोमा तामाङका परिवारलाइ डा. सुन्दरमणि दिक्षित, पोखराका एक व्यक्ति लगायत केही दयालु मन भएका व्यक्तिहरुले उनीहरुको दैनिक गुजारा टार्नको लागि केही मात्रामा भनेपनि सहयोग गरेका रहेछन् ।
    गरिब र निमुखा जनताको सहयोगको लागि भनेर खोलिएका कुनैपनि सरकारी तथा गैरसरकारी सस्थाको आँखा बैरेनीको त्यो अभागी वस्तीमा नपुगेपछि पछिल्लो समय काठमाडौको जातिय संगठन नेपाल तामाङ राष्ट्रिय महासंघले केही सक्रियता देखायो र बुधबार गाउमै गइ विभिन्न ठाउबाट संकलन गरि जम्मा पारेको ५७ हजार तीन सय नव्वे रुपैयाँ दुइ परिवारलाई बाडिदिएपछि उनीहरुलाई थोरै भएपनि राहत मिलेको छ । सरकारले दिने भनेको राहत रकम पाउन नसकेपनि  दोहा इन्टरनेशनल एयरपोर्टमा कार्यरत नेपाल तामाङ राष्ट्रिय महासंघ कार्य समितिका सदस्य सन्देश तामाङको सक्रियतामा संकलन गरिएको रकम हस्तान्तरण गर्दा उनीहरुमा थोरै बाहिरी खुसी देखिएपनि उनीहरुमा आफन्त गुमाउनुको पिडा र गरिवीका कारण भोग्नुपरेको समस्या प्रस्टै झल्किरहेथ्यो ।
तीन जना नावालक छोराछोरीका साथ कृष्णवहादुरकी श्रीमती गोमा तामाङ ।
वावुको मृत्यु पछि उनीहरु स्कुल जान सकेका छैनन ।

हाम्रै धादिङमा पनि तामाङ जातिको हक, अधिकार र सहयोगका भनेर स्थापना गरि विभिन्न तामाङ जातिय संघ संगठनहरु खुलेका छन् तर, तिनीहरुको आँखा किन यो कार्कीडाँडाको तामाङ बस्तीमा पुगेन । उनीहरुलाई तामाङ जातिले मात्र हैन किन अरुले जातिले पनि सहयोग गर्नुपथ्र्यो । तर अहिलेसम्म कुनै संघसंगठनले सहयोगका लागि तत्परता देखाएनन् । के धादिङमा भएका तामाङ जातिय संगठनहरु आफ्नो स्थार्थ पुर्तीका लागी मात्र खुलेका हुन त ? यदि होइन भने तामाङ जातीको नाममा राजनीति गरेर मात्रै तामाङ जातीको मुक्ति हुदैन । गाउमा भएको पाखोबारीको उव्जनीले ३ महिनालाई पनि खान नपुग्ने  भएकाले वर्षभरि जिविका चलाउनका लागि भनेर ज्याला मजदुरी गर्दै हिड्ने घरमुलीको मृत्युपछि परिवारको विजोग भएको छ । न्यून आर्थिक अवस्था भएका मानबहादुरको एक श्रीमती, ४ छोरी, ३ छोरा छन् । आफ्नो नाममा भएको चार हलको पाखोबारीमा  फलेको मकै र कोदोले बर्षको ४ महिनापनि राम्रो संग नधान्ने उनिहरुले बताए । मानबहादुरको मृत्युपछि उनको ९ जनाको परिवारको बिचल्ली भएको छ । घरको मुलीनै बितेपछि आफुलाई  घर सम्हाल्न निकै सकस भएको मानवहादुरकी श्रीमती सानुकान्छी तामाङले बताउनुभयो । मानवहादुर संगै बम विष्फोटमा परेर ज्यान गुमाउने कृष्णवहादुरको घरको अवस्था मानबहादुरको भन्दा फरक छैन । बाबुको मृत्युपछि उनका तीन सन्तान अहिलेसम्म बिद्यालय समेत जान सकेका छैनन । घरमा खानेकुरा केहि नभएको र बाबुको मृत्युले छोराछोरी समेत निकै पिडामा परेकाले उनिहरु बिद्यालय जान सकेको कृष्णवहादुरकी श्रीमती गोमाले बताउनुभयो । घरमा खाने अन्नको दाना पनि नभएको र कमाई ल्याउने घरमुलीनै मारिएपछि आफुलाई ठुलो संकट परेकाले सरकारले दिने भनेको राहत नपाउंदा आंफुहरुलाई निकै समस्या भएकाले सहयोग गरिदिन गोमाले सबैसंग आग्रह गर्नुभएको छ ।

आफ्ना जनताहरुप्रति सरकारको अलिकति पनि दया छ भने कसैको केहि बिगार नगरेका यी सानुकान्छी र गोमा तामाङको परिवारको आग्रहलाइ तत्काल सम्वोधन गरि उनीहरुलाइ राहत उपलव्ध गराउनु पर्दछ ।
duwadi.dhading@yahoo.com

0 Comments:

Post a Comment