Pages

Subscribe:

Ads 468x60px

मौलाकालिकाको पहिलो यात्रा


साउनको १७ गते साँझ चितवनमा उत्रिएलगत्तै कोठामा गएर दिनभर हिडेको थकाइ मेटाउन विछ्याउनामा पल्टिए । वन्दले गर्दा दासढुङगादेखि ४ घण्टा लगाएर चितवन पुगेको थिए त्यो दिन । आफु वसेको ठाउमा लोडसेडिङ भएपनि नारायणी नदिपारीको डाँडामा झलमल वत्ति वलेको देखेर साथीलाइ सोधे त्यो कुन ठाउ हो ? झ्यालवाट नै वाहिर हेरिरहेको साथीले मेरो प्रश्न मुखवाट निस्कन नपाउदै उत्तर दियो “मौलाकालिका” । नाम धेरैपटक सुनेको भएपनि एकपटक पनि नपुगेको ठाउ थियो त्यो । रातको त्यो सन्नाटामा पनि झलमल वत्तिको साथमा रमाइरहको जंगलमाथीको त्यो मौलाकालिका यसपालीको चितवन वसाइमा जसरी पनि जाने योजना वनाए ।
अहिलेको मौलाकालिका मन्दिर
यो गर्मीको मौसममा चितवनमा करिव १५ दिन वस्नुपर्ने भएपछि मलाइ दिन विताउदै गाह्रो भइरहेको थियो । विहान वेलुका त तालिम हुन्थ्यो तर दिनभर फुर्सद । कहाँ गएर र कसो गरेर गर्मी छल्ने, उपाए थिएन । यत्तिकैमा साउनको २७ गते मौलाकालिका जाने योजना वन्यो । मौषमको कुनै ठेगान नभएको चितवनमा हातमा एउटा छाता वोकेर हिडे मौलाकालिका भगवतीको अवलोकनमा । नारायणी पुल तर्दै गर्दा पनि त्यो वनको वाटा कसरी उक्लने हो वाटो कस्तो होला भन्दै सोचेर हिडिरहे । मौलाकालिका को वारेमा मौलाकालिका शव्द भन्दा वाहेक त्यहाको वाटो, वातावरण, भौगोलिक अवश्था केही पनि थाहा नपाएकोले नौलो अनुभव गदै वाटोमा देखाएका संकेतहरु लाइ पछ्याउदै मौलाकालिका मन्दिरको दुरी छोट्याउदै गएँ । ।
नारायणी पुल तरेर नवलपरासी जिल्ला प्रवेश गरेलगत्तै संकेतहरु पच्छ्याउदै जाँदा १ किलोमिटर पैदल हिडेपछि धार्मिक सेवा समितिको कार्यंलयमा पुगे । धार्मिक सेवा समितिले नै सम्पुर्ण मौलाकालिकाको व्यवस्थापन गर्दोरहेछ । त्यहावाट मन्दिर प्रवेशद्वार पनि प्रस्टैसंग देखिरहेको थियो । तर मलाइ भने धार्मिक सेवा समितिको शिलालेखमा लेखिएका इतिहासहरु पढ्न मन लाग्यो ।
वि. सं. २०३७ सालमा चितवन र नवलपरासीमा स्थानिय भद्रभलाद्मीहरुको पहलमा धार्मिक सेवा समिति गठन गरेर मन्दिरको भौतिक पुर्वाधारको विकास र मन्दिर व्यवस्थापन गर्न सुरु गरिएको रहेछ । धार्मिक र ऐतिहासिक महत्व वोकेको मौलाकालिका मन्दिरलाइ २०३७ साल देखि नै संरक्षण,सम्वर्धन गरेको र वि सं २०४४.........................................
सालसम्म वार्षिक रुपमा पुजाआजा गर्ने परम्परा धार्मिक सेवा समितिले वसालेको शिलालेखहरुवाट थाहा पाए ।
मन्दिरको मुलगेटमा पुगेको थिए । अव मलाइ १ हजार ८ सय ६१ वटा सिँढिहरु चढेर समुन्द्र सतहदेखि ५६१ मिटरको उचाइमा रहेको मौलाकालिका मन्दिर पुग्नु थियो । सिँढि उक्लेको केहीवेरमा नै २ वटा मन्दिर देखा परे । गणेश मन्दिर र कृष्ण मन्दिर । कृष्ण मन्दिरको पुर्ननिर्माण हुदै रहेछ । मेरो मौलाकालिका यात्रा धार्मिक रुपमा पुजाआजा गर्नुभन्दा पनि विशुद्ध अवलोकन मात्र थियो । मलाइ कृष्ण मन्दिर छेउमै पुजा सामाग्री वेच्न वसेका व्यक्तिले पुजा सामाग्री किन्न आग्रह गरे तर उनको कुरालाइ वास्ता नगरी म अघि वढे । कुनै तिथि व्रतलाइ नछुटाइकन पुजाआजा गर्ने वानी नभएपनि मन्दिर छेउ भएर जाँदा यसैयसै शीर झुक्ने गर्दछ । त्यहाको कृष्ण र गणेश मन्दिरमा पनि एक फन्का लगाएर आर्शिवाद माग्दै फेरी सिँढिको उकालो चढ्न थाले ।
म फुर्सदको समय पारेर एक्लै गएकाले मैैले वाटामा देखिएसम्मका शिलालेखहरु पढ्न छुटाएको थिइन । वाटोभरि विभिन्न व्यक्तिहरुले आफ्नो परिवार र आफन्तहरुको सम्झनामा वनाएको पाटी, चौतारा, सिँढि, मन्दिर, प्रतिक्षालय अतिथिगृह, धारा, रमणीय प्राकृतिक वातावरण आदिले उकालोको यात्रामा थकानको अनुभूती नहुने रहेछ ।
वाटोको संकेतहरु

वाटोका छेउछाउमा मन्दिर आइपुग्न यत्ति समय वाँकी छ, अव यस्तो वाटो आउदैछ भनेर संकेतहरु पनि राखिदिएकाले दर्शनार्थीहरुलाइ अझ उकालो हिड्न हौसला मिल्दोरहेछ । उकालो वाटोभरि मिलाएर वनाएको सिँढि अनि सिँढि उक्लन गाह्रो पर्नेलाइ आढ भरोसा दिने रेलिङ, सवैसवैमा लेखिएका शिलालेखहरु पढ्दै र हरेक विसौनी र प्रतिक्षालयमा रोकिदै करिव डेढ घण्टामा म नवलपरासी जिल्ला, गैडाकोट गा वि स, वडा नं १ को देउराली डाँडामा अवस्थित मौलाकालिका मन्दिरमा पुगे । म आइतवारको दिन गएको थियो । साउनको महिना भएकाले वोलवम तीर्थयात्रीहरुको वाक्लो उपस्थिति रहेको थियो । अझ साउने सोमवारको दिनमा त वोलवम दर्शनार्थीको भीडले पाइला राख्ने ठाउ सम्म नपाइने त्रिपाल टाँगेर व्यापार गर्न वसेका स्थानियले वताएका थिए ।
यो भगवतीको मन्दिरमा पुजाआजा गर्नाले मनले चिताएको हरेक कुरा पुग्छ भन्ने जनविश्वास रहेकाले दिनहु धेरै भक्तजनहरुको भीड लाग्दो रहेछ । म पनि मन्दिरमा पुगेर कालिका भगवतीसंग मनले चिताएको कुरा पुगोस भन्दै शीर झुकाएर आर्शीवाद मागे । अनि मन्दिरलाइ फन्का लगाउदै चारैतिरको रमणीय वातावरण हेर्न थाले । मुक्तीनाथ मन्दिरवाट वगेर आएको कालिगण्डकी नदी र गोसाइकुण्डवाट वगेर आएको त्रिशुली मिलेर वनेको हिन्दु धर्मालम्वीहरुको पवित्र तीर्थस्थल देवघाटधाम मौलाकालिका मन्दिर प्राङगणवाटै प्रस्टै देखिने रहेछ ।
देवघाट क्षेत्र देख्ने वित्तिकै मलाइ मेरी हजुरआमाको याद आयो । धर्मकर्ममा निकै रुची राख्ने मेरी हजुरआमा देवघाट क्षेत्रवाटै कहिल्यै नफर्कने गरि भगवानको सेवामा जानुभएको थियो । मौलाकालिका मन्दिर प्राङगणवाट हजुरआमालाइ सम्झदै एकछिन देवघाट क्षेत्रतिर मन डुलाइरहे । देवघाट क्षेत्रको विपरीत दिशामा  फर्किएर चितवन र नवलपरासी जिल्ला र नारायाणी नदिलाइ आखाले देख्न सकुन्जेलसम्म नियालीरहे ।
मौलाकालिका मन्दिरवाट देखिएको दृष्य । वारी गैडाकोट वीचमा नारायणी र पारी चितवन ।
 मन्दिरवाट दिनको समयमा देखिएको त्यो चितवन जिल्ला र शान्त नारायणी नदीलाइ मौका मिलेमा रातको समयमा  पनि  अवलोकन गर्ने  इच्चा राखेर  मन्दिर प्राङगणमा  नै राखिएका शिलालेखहरुमा  आँखा डुलाउन थाले ।
आज भन्दा करिव ४५० वर्षअघि पाल्पाका राजा मणीमुकन्द सेनको राज्यकालमा राज्यका तत्कालिन सैनिकहरुद्वारा आफ्नो व्यारेकमा काठको मौलो गाडी कालिका भगवतीको स्थापना गरिएको किंवदन्ती रहेछ । आज आएर त्यही स्थानमा मौलाकालिका मन्दिर स्थापनाको भएको इतिहास त्यहीको मन्दिर, पाटी अनि अतिथियगृहमा कुदिएको शिलालेखहरुमा देखिन्छ ।
मन्दिरको वरिपरीको वातावरण अनि भौतिक पुर्वाधारहरुको विकास देख्दा त आजसम्म म यत्ति व्यवस्थित तीर्थस्थलमा पुगेकै छैन । हरेक ठाउमा मन्दिर, धारा र पाटीपौवा तथा खाजाघरहरुपनि दाताकै सहयोगमा वनाइएको रहेछ भने मन्दिरको व्यवस्थापन पनि निकै नै राम्रो रहेछ । वि सं २०३७ सालदेखि मन्दिरलाइ यो अवश्थासम्म ल्याउनको लागी मध्य क्षेत्रिय प्रहरी तालिम केन्द चितवनको ठुलो योगदान रहेछ त्यसमा पनि तात्कालिन डि एस पी ज्ञानेन्द्र विक्रम महतको त विशेष योगदान । मन्दिरसम्म पुग्नको लागी सिँढि वनाउने ढुङगाहरुदेखि मन्दिरको गजुरसम्म तालिममा गएका प्रहरीहरुको जनश्रमदाले वोकिएको रहेछ । तल मुलगेटखेखि हरेक किसिमका निर्माण सामाग्रीहरु माथी मन्दिरसम्म पु¥याउन तालिममा गएका प्रहरी
मन्दिर उक्लने वाटो
जवानहरुले हाडछाला घोटेका रहेछन तर हरेक शिलालेखमा भने प्रहरीका अधिकृत अर्थात टाउकेहरुकै नाम लेखिएको रहेछ । केही प्रहरी अधिकृतहरुले चाही ठुलै रकम नै सहयोग गरेका रहेछन । तर निर्माण गरिएका अधिकाँश भौतिक पुर्वाधारहरुका सामानहरु ओसारपोसारमा तिनै तालिमे प्रहरी जवानहरुको पसिना मिसिएको छ तर शिलालेखमा जस्को कार्यकालमा काम भयो उसमो मात्रै नाम, यहाँ चाही श्रमको अन्याय भएको जस्तो अनुभव भयो मलाइ ।
करिव एक घण्टा त्यहावाट देखिने रमणीय क्षेत्रहरु, हिमशृखंला र मन्दिरप्राङगणको वातारणमा रमाएर अर्कापटक आउदा विशेष पुजाआज गर्ने मनमा संकल्प राखि कालिका भगवतीलाइ अन्तिम दर्शन चढाएर म फर्किए । फर्कदा पिकनिक स्थलको पनि अवलोकन गरे । निकै व्यवस्थित पिकनिक स्थलमा कुनै वेलामा साथीभाइहरु पिकनिक खान आउने योजना पनि वनाए । फर्कदै गर्दा अघि जानेवेलामा कृष्ण मन्दिर नजिकै पुजा सामाग्री वेच्न वसेका व्यक्तीले मलाइ अनौठो कुरा सुनाए । उनी भन्दै थिए — “यो मन्दिरमा केटा मान्छे एक्लै गएको म पुजा सामाग्री वेच्न वसेको चार वर्षमा पहिलोपटक देख्दैछु ।” यो कुरा निकै अनौठो लागेपछि ती व्यापारी संग एकछिन गफ गरे । उनको यो भनाइ अघि मैले पुजा सामाग्री नकिनेको रिसमा थियो कि वास्ताविक कुरा थियो त्यो चाही सोधिन तर गफगाफको क्रममा थाहा भयो कि, मन्दिरमा कि महिलामात्रै पुजा गर्न जादा रहेछन की महिला पुरुष दुवै जाँदा रहेछन । पुरुषहरु पुजा गर्न जाँदा समुहमा मात्रै गएको उनले देखेका रहेछन । ती व्यापारी संग केहीवेर गफ गरेपछि भने म फर्किए आफ्नै वासस्थान । फर्कदा ती व्यापारीको भनाइ मनमा खेलीरह्यो र मनमनै एउटा योजना पनि वनाए – “अर्कोपटक मौलाकालिका जाँदा महिला साथी सहित उनकै पसलमा पुजा सामाग्री किनेर कालिका भगवतीको दर्शन गर्छु ।”

0 Comments:

Post a Comment