Pages

Subscribe:

Ads 468x60px

अल्छी डाँडामा गजल गुन्जिदा...

घाम पश्चिम डाँडामा अस्ताउदै गर्दा पुर्वपट्टिको डाँडावाट जुन एक जुवा माथि आइसकेको थियो । सुखद साँझको कामना गर्दे जव केही युवाहरुको नीलकण्ठ ३ को अल्छीडाँडामा जमघट हुन सुरु भयो तव साँझको चिसो सिरेटोपनि गजल गोधुलीमा घुलेर माहोल तताउन थाल्यो । युवा गजलकार राजकुमार उदासले हलमा गजलको पहिलो शेर छोडे :
गजल गोधुलीमा सहभागीहरु गजलकारहरु
कुरैकुराले आकाश छुने मेरो देश
नारै नाराले विकास हुने मेरो देश

उदासको यो उदासी गजलसंगै धादिङ सिर्जना प्रतिष्ठानले हरेक महिना आयोजना गर्ने गरेको गजल गोधुलीको सुरुवात भयो । हलवाट तालीको पर्रा छुट्न थाल्यो उदास अघि वढ्दै थिए :
समस्याको स्याल देख्दै हात खुट्टा छाडी
सीमा पारी गुहार माग्दै रुने मेरो देश
प्रकृतिको सागरमा पौडी खेल्न छोडी
नालीको पानीले इमान हुने मेरो देश

जव उदासले आफ्नो गजलको अन्तिम शेर सहभागीहरु माझ छोडे लगत्तै नीलकण्ड क्याम्पसका प्राध्यापक एवं गजलकार रामशरण सापकोटाले पनि देशप्रेम भावयुक्त गजल भन्न थाले । गजलमार्फत उनी भन्दै थिए :
म मरेर शान्ति दिप बल्छ भने आमा
मरिदिन्छु शान्तिले देस चल्छ भने आमा
मरुभूमि भैसकेका मयुर नाच्ने डांडा
रगत दिन्छु मलिलो भै गल्छ भने आमा 
अचानोमा मेरो छाती माथि तरबार
गाडीदिनुस अशान्ति चै ढल्छ भने आमा  भन्दै देशप्रेमले ओतप्रोत गजल सापकोटाले टुङयाउदै गर्दा सहभागी सवैको छात्ती ढक्क फुलेको आभास भयो । पछिल्लो समय धादिङको साहित्यिक गतिविधिहरुमा आफ्ना......
पाइला अघि वढाउदै गएको धादिङ सिर्जना प्रतिष्ठानले हरेक महिना गजल गोधुलीको आयोजना गर्ने गर्दछ । यस पटक गजलकार राजकुमार उदासको आतिथ्यलाइ स्वीकार गर्दे सदरमुकामभन्दा केही पर माथी डाँडामा गजल वाचन कार्यक्रम आयोजना भयो । साँझको झिलीमिली बत्तीभित्र लुकेको सदरमुकामलाइ तल वेशीमै राख्दै गजल वाचनमा जम्मा भएका गजलकारहरुमाझ फेरी गुन्जियो :
दिलमा राखेको तिम्रो तस्विर हेर्छु अचेल
यो वित्नै लागेको मंसिर हेर्छु अचेल

युवा गजलकार सुनिल इटनीले गजल मार्फत मंसिर वित्न लागेको चिन्ता गर्दे गर्दा अर्का युवा गजलकार अमृत अधिकारीले फेरी एकपटक हलको माहोल तताए । उनी आफ्ना गजलको शेरमार्फत भन्दै थिए : जमिनमा हुन्छ पानीमा हुन्छ
प्रेम आँखाको नानीमा हुन्छ
एकोहोरो हेराइले के नै हुन्छ र ?
जे जे हुन्छ नजर हानाहानीमा हुन्छ

गजलकार हरिशरण अर्याल, शिखा श्रेष्ठ, सिर्जना अधिकारी, सुमन गिरी, भोला गौतम लगायत २० भन्दा वढि गजलकारहरुको वीचमा अर्का प्राध्यापक एवं गजलकार देवी अधिकारी भने गजलमार्फत नै जीवनको अर्थ खोज्दै थिए :
आकाशलाइ हेरे जीवन नीलो रहेछ
वन्धित जन्तुलाइ सोधे यो कीलो रहेछ ।

केही वर्षयता धादिङमा साहित्यिक गतिविधि शुन्य जस्तै भइसकेको थियो । त्यो शुन्यतालाइ चिर्दे पछिल्लो समयमा धादिङ सिर्जना प्रतिष्ठानले यस्तै सिर्जनात्मक गतिविधिहरुलाइ अघि सार्दै आएको छ । युवा पुस्ताहरुमाझ साहित्यको रस भर्न र साहित्यिक गतिविधिहरुमा युवाहरुको रुची जगाउन हरेक महिना गजल गोधुलीको आयोजना गरेको धादिङ सिर्जना प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेलले वताए । उनी भन्छन ‘युवाहरुको रचनात्मक लेखनका लागि पनि यस्ताखाले कार्यक्रमहरु बेलावेलामा युवालक्षित गरेरै भइराख्नुपर्दछ ।’
भित्ताको घडिले ९ वज्नै लगाउदा केही सहभागीहरुको अनुहारमा हतारको भाव देखिन थालेपछि कार्यक्रम संयोजक दिनेश कडेँलले कार्यक्रम टुगिएको घोषणा गरे । केही क्षण भनेपनि सदरमुकामको कोलाहल युक्त वातावरणवाट अलि पर गएर गजलका शेरहरुमा मन डुलाउदा सहभागीहरुका अनुहारमा आत्मशान्तिको भाव प्रष्टै झल्किरहेथ्यो ।

1 Comments: