Pages

Subscribe:

Ads 468x60px

मानवियता गुमाउदै गएको राजधानी

गएको पुष २५ गते बेलुकी ५ वजेतिर कान्छो भाइ विरामी भएर अकस्मात काठमाण्डौ जानुपर्ने भयो । काठमाण्डौको वीर हस्पिटलमा भाइलाइ लिएर ६ दिन बस्दा केही यस्ता नरमाइला घटनाको साक्षी बन्न पुगे कि त्यो देखेर अव काठमाण्डौमा (राजधानी) मानवियता भन्ने चिज नै हराइसकेको अनुभूती भयो ।
देशको राजधानी जस्तो ठाउ हो, कोही कसैले बदमास गर्दैमा समग्र राजधानीलाइ नै किन नराम्रो भन्ने तर्क पनि हुनसक्छ कोही कसैको । तर मैले पहिला पनि भोगेको र अहिले पनि भोगेको नमिठो अनुभवको केही उदाहरणका साथ यो शव्दहरु लेख्दैछु ।
केही चिजलाइ राम्रो बनाउन पर्यो भने सवैथोक सिंगारिन्छ तर सिंगारपटारमा एकठाउमा मात्र कमजोरी भयो भने अन्य ठाउमा सवै राम्रो भएपनि त्यो एकमुष्ट नराम्रो मै गनिन्छ । त्यस्तै मैले भोगेको र देखेको एउटा प्रत्यक्ष घटनाबाट नै मलाइ बाहीरी आवरण चिटिक्क देखिएको राजधानीको मनभित्र नराम्रो र राजधानीबाट मानवियता हराइसकेको भान भयो ।
भयो के भने, गत पौष २९ गते एमाओवादी सहितका ३० दलिय मोर्चाले राजधानी लगायत देशका विभिन्न जिल्लाहरु बन्दको आव्हान गर्यो । बीर हस्पिटलमा विरामी कुरेर बसेको म वन्दको प्रभाव कति छ भनेर बाहिरको बातारण हेर्न हस्पिटलको कम्पाण्ड बाहिर निस्किए । राता झण्डा टाउकामा बाँधेका १०÷१२ जना मान्छेको केहीवेरको चर्तिकला हेरेपछि फेरी भित्र पसेँ । कम्पाउण्ड भित्रको एउटा कुनामा एकजना अन्दाजी ४०÷४५ वर्षजतिको पुरुष रोइरहेको देखे । सुनेको थिए, पुरुषहरुको आँखाबाट सित्तिमिति आशु झर्दैन भनेर । तर ती ब्यक्ति बरबरी आसु झारेर रोइरहेको देखेपछि पक्कै पनि ठुलै पिडा परेको ठाने । संगै उनकी छोरी निन्याउरो अनुहार बनाएर हातमा एउटा काठको लौरो लिएर वसेकी थिइन । ती व्यक्ति रोइरहेको हेर्ने...........
तमासेहरुको भीडमा म पनि मिसिए । छोरीको खुट्टाको नशासम्वन्धी रोग लागेर उपचारको लागि राजधानी आएका ती जुम्लाका ती दाजुलाइ राजधानीले अर्को पिडा थपिदिएपछि भक्कानो छुटेर रोइरहेका रहेछन ।
उनको दशा भनौ या चोरको भाग्य । बन्दको मारमा बल्ल बल्ल नरदेबीदेखि हिडेर बीर हस्पीटल आइपुग्ने वित्तिकै एकजना अपरिचित व्यक्ति सित भेट भएछ । खल्तीमा २५ सय बोकेर आएका उनलाइ छोरीको उपचारको व्यवस्था म मिलाइदिन्छु भन्दै टिकट काट्ने ठाउ देखाइदिने र सस्तो उपचार गराउनको लागि पहल गर्छु  भन्दै फकाएछ । अस्पताल प्रशासन र त्यहाको व्यवस्थाबारे केही पनि नजानेको व्यक्तिलाइ कोही कसैले सहयोग गर्छु भनेर अगाडी आएका व्यक्तिको मनभित्र ठग मानसिकता लुकेको ती जुम्ली दाजुले कसरी थाहा पाउन बरै । उनलाइ के थाहा भौतिक रुपमा चिटिक्क देखिएको राजधानीमा बसेका मान्छेहरुको मनमा बिष्णुमतीमा बगेको कालो ढलपनि मिसिएको छ भन्ने कुरा ।
आफ्नो खल्तीमा भएको २५ सय लिएर हस्पिटल भित्र पसेको मान्छे बाहिरै ननिक्लिएपछि उनी भक्कानिएका रहेछन । तमासेहरुको भीडमा बसेर च्व च्व गर्नेहरु त धेरै थिए तर म पनि त्यही च्व च्व भन्ने भन्दा माथि जान सकिन । उनी रोएको देखेर ती जुम्ली दाजु र उनको छोरीको नाम समेत सोध्ने समेत आँट गर्न सकिन ।
केहीवेरमा एभिन्युज टेलिभिजन कार्ड भिरेर रिमिक्क परेर आएका २ जना युवतीहरु एउटा बडेमाको क्यामेरा तेर्साउदै ती दाजु भएको ठाउमा आएर सोधे, ‘वन्दको असर तपाइलाइ कतिको परेको छ र कहाँदेखि आउनुभएको ? मुटुदेखि नै भक्कानिदै रोइरहेका दाइलाइ मनमनै लागेको थियो होला, ‘तेरो प्रश्नको उत्तर दिएर मलाइ ठग्ने मान्छे फेला पर्छ र ? अनि मेरी छोरीको खुट्टाको उपचार हुन्छ  र ?’
तर ती रोइरहेका दाजु विरामीको आफन्त ठग्ने ‘ठग’ बस्ने राजधानीबासी थिएनन । उनले ती पत्रकारले सोधेको उत्तर नदिएर बस्न पनि सक्थे होला तर उनी मानवियता हराएको शहरमा बसेको मान्छे थिएनन । उनको गाउमा अरुले सोधेको कुरा र अरुलाइ सम्मान नै गर्नुपर्छ भन्ने संस्कार सिकेका व्यक्ति थिए र त साधेको कुरा रुदै भनेपनि उत्तर दिए, ‘नरदेविवाट हिडेर आएको ।’
उनी रुनुको कारण ती पत्रकारले नसोधेतापनी तमासेहरुबाट जानकारी पाएर पनि ती पत्रकारले खासै वास्ता दिएनन उनको रुवाइको वाध्यतामा । बडेमानको क्यामेरा बोकेर आएका उनीहरुलाइ पनि लाग्यो होला, हाम्रो आजको काम बन्दको रिपोर्टिङ गर्नु हो कोही कसैको रुवाइमा हामीलाइ के को चासो । जे चाहिएको थियो त्यो पाइहालियो ।
मैले यहाँनिर पनि मानवियता कै कुरा गरे । हाकिमले लगाएको काम गर्ने भन्दैमा अलिकति पनि मानविय संवेदना नराखी सोझै रोइरहेको मान्छेको नाकै ठोसिने गरेर क्यामेराको बुम तेस्र्याउने पत्रकारले थोरै भएपनि मानविय संवेदना देखाएर किन रुनु भयो केही समस्या छ कि भनेर सोध्नु पथ्र्यो होला पहिले । तर उनीहरुले त्यसो गरेनन । हाकिमले जे कामको लागि खटाएका थिए त्यही काम गरे, सकियो । किन र कसका लागि देखाउनुपर्यो मानवियता र संवेदना ।
यो सवै पढेपछि तैले सहयोग गरेको भएपनि त हुन्थ्यो ती जुम्ली दाइलाइ, अनि १÷२ जना राजधानीबासीले संवेदना गुमाए भन्दैमा सवैलाइ दोष दिन पाइन्छ भन्ने पनि लाग्दो हो कोही कसैलाइ तर अन्य ठाउको मान्छे भन्दा राजधानी बस्ने मान्छेहरुमा संवेदना गुम्दै भएको पाएको छु । राजधानीमा रहेका कोही कसैलाइ अरुको बारेमा जान्ने र वुझ्ने फुर्सछ छैन । सवै आफु भलो त जगतै भलो भन्ने सोचाइ राख्ने मान्छेहरु बस्ने ठाउ हो जस्तो लाग्छ मलाइ राजधानी ।
राजधानीमा बस्ने मान्छेमा आखिर किन मानविय संवेदना हराउदै गयो ? किन उनीहरु अरुको दुःखलाइ बुझ्न चाहदैनन ? किन राजधानीबासी अरुको भावनामा खेलबाड गर्न चाहन्छन ? अहँ मैले यसको उत्तर फेला पार्न सकिन किनकी म त्यहा मानविय संवेदना जाच्ने यन्त्र लिएर गएको थिइन । म पनि त्यो हस्पिटलमा विरामी नै लिएर गएको थिए, यत्ति फरक छ की ती जुम्ली दाइ सात दिन लगाएर जुम्लाबाट आएका थिए भने म ३ घण्टा लगाएर राजधानी पुगेको थिए ।

0 Comments:

Post a Comment