Pages

Subscribe:

Ads 468x60px

ओढारमा वस्नेसंग एक घण्टा

भएको वेला स्कुललाइ दान, अहिले ओढारमा वास
वरिपरी थोत्रा लुगा । सम्पतिको नाउमा त्यही थोत्रा लुगा, एउटा छाता र तीन ठाउमा गाँसेका केही जोर पुराना चप्पलहरु अनि अलिअलि घामपानी छेक्ने ओढार । यी थोत्राथात्रीलाइ कपडा र ओढारलाइ नै आफ्ना संसार ठानेर सलाङ गाउ विकास समिति वडा नं ६ को निवुवाटारमा रहेको ओढारमा विगत ५ वर्षदेखि वसिरहेका छन ५७ वर्षिय गोपाल परियार ।
सानै हुदा आफ्ना वावुआमा गुमाएका उनलाइ आफ्नै काकाले अंश नदिएपछि काकासंग अंशमुद्धा जितेर पाएको २ रोपनी जमिनमध्ये १ रोपनी जग्गा सलाङ गाउ विकास समिति वडा नं ५ मैदानमा रहेको पन्चमुखी माद्यमिक विद्यालयलाइ दिएका थिए ।
पछि आफ्नो बावुले लिएको क्रृणका लागि वाँकी रहेको १ रोपनी जमिन पनि साहुले खाइदिएपछि आफ्नो उठीवास लागेको परियारले वताए । तर पन्चमुखी माद्यमिक विद्यालयका शिक्षक डिल्ली प्रसाद पाठकले भने २०३७ साल तिरै उनले विद्यालयलाइ जग्गा दिएको भएपनि त्यसको सट्टा उनलाइ अर्के ठाउमा विद्यालयको जग्गा दिएको वताए ।
साहुले भएको जग्गा पनि खाइदिएपछि गाउँ छोडेर हिडेका परियारले राजधानीमा सेनाको घरमा काम गर्ने वेलामा चितवनकी एउटी केटीसंग विवाह पनि गरेका थिए । तर १ वर्षको काखे छोरो लिएर माइत गएकी श्रीमती फिर्ता नआएपछि भने उनी गाउँ फर्किए । चितवनकी केटी विहे गरेपनि ससुराली एकपटक पनि नगएका उनले
श्रीमती र छोराको त खोजी गरेनन नै, गाउ फर्किएर पनि वस्ने ठाउ नभएपछि निवुवाटारको ओढारलाइ नै घर वनाए । उक्त ओढारमा तीनवर्षसम्म एक्लै वसेका परियारलाइ सलाङकै मगरहरुले आफनै घरमा वस्न आग्रह गरेपछि स्थानिय नेत्र मगरको घरमा १ वर्ष वसे । तर अरुको घरमा वस्नेलाइ आफुले भनेजस्तो सधै कहाँ हुन्थ्यो र । निधार खुम्च्याउदै परियारले भने, ‘घरको काममा सघाएवापत खान लाउन न पाएकै थिएँ तर खेतवारी जोतेको,.....
मेलापर्ममा गरेको कामको ज्याला नपाएपछि निवुवाटार र फेरी यही ओढारमा वस्न थाले ।
दोस्रोपटक ओढारमा वस्न आएदेखि ५ वर्ष भयो उनले निवुवाटारको ओढारमा रात कटाएको । दिनभरी ज्यालादारीमा अरुको खेत जोत्ने, मजदुरी गर्ने र त्यही खाने गर्छन । अनि साँझमा सुत्न भने उनी निवुवाटारको त्यही ओढारमा फर्किन्छन । परियारले भने, ‘दिनभरी अरुको खेतवारीमा काम गर्छु, काम गरेको ज्याला पनि दिन्छन, खान दिएका वेला त्यही खायो, काम गर्न नपाएको दिन पारीपटि सलाङघाटका होटलहरुमा गएर भाँडा माझ्न सघाएर त्यही खाने गर्छु ।’
काम गर्नको लागि जहासुकै पुगेपनि सुत्नको लागि भने उनी यही ओढारमा आउने गरेका छन । ‘यही सुतेको पाँच वर्ष भयो, काम गर्न गएकै ठाउमा यही वस पनि भन्छन तर मलाइ वस्नै मन लाग्दैन । दिनभर काम गरेर थकाइ लागेको हुन्छ, अर्काको घरमा सुत्दा आरामसंग सुत्न पाइदैन, निन्द्रा पनि नपुग्दै एकाविहानै उठ्न लगाउछन ।’ परियारले भने, ‘अरुवेलामा त ओढारमा वस्न पनि ठीकै हुन्छ तर पानी परेको वेला भने साह्रै सकस पर्छ, एउटा छाता छ त्यसैले पानी छेकेर वस्छु ।’
आफ्नो बाउआमाको वारेमा केही पनि पत्तो नपाएका परियारको काकाहरु भने धेरै पहिले नै वाँके बर्दियातिर वसाइ सरेर गएको उनले वताए । भविष्यप्रति चिन्ता गर्दे उनले सुनाए, ‘शरिरले साथ दिएर काम गर्न सकुन्जेल त खाउला तर थला परेपछि भने के हाल हुने हो केही थाहा छैन ।’ भएको आफ्नो सम्पती पनि अरुले लुटेर उठीवास लगाएको गाउँ कहिल्यै पनि नफर्कने वताएका उनले भने ‘कसैले यही वेशीमै एउटा छाप्रो वनाइदिए ज्याला मजदुरी गरेर आनन्दसंग वस्ने थिए ।’
मंसिर १३ गतेको शनिवार सवैरे ओढारमा पुगेको हामीले परियारसंग भलाकुसारी गरेर करिव एक घण्टा वितायौँ । पटक–पटक गरि ओढारमै ८ वर्ष विताएका गोपाल परियारसंगको गरिएको १ घण्टाको कुराकानी पश्चात यस्तो लाग्यो कि मान्छेको मनमा आत्मसन्तुष्टी छ भने ओढार पनि स्वर्ग हुदो रहेछ ।

0 Comments:

Post a Comment